Friday, January 30, 2015

सन्तान अस्ट्रेलियामा बाबुआमा वृद्धाश्रममा

फोटो :फाइल फोटो, वृद्धाश्रममा वृद्धा
सिन्धुपाल्चोक जलबिरेका ८६ वर्षीय मेहरमान खड्का अस्ट्रेलियामा रहेका डाक्डर छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा टोलाइरहेका छन् । सन्तान र आफन्तले बेवास्ता गरेपछि उनको वाध्यताको बसाइँ बनेको हो वृद्धाश्रम। ‘दुई भाइ छोरामध्ये जेठो छोरा भारतमा ठूलो व्यापारी छ, उसले मलाई कुनै वास्ता गरेन, कान्छो छोरो अस्ट्रेलियामा छ, उसले पनि मलाई हेला गरेर आफ्नी आमालाई मात्र लिएर गयो,’ मेहरमानले गुनासो गरे। उनले थपे, ‘सन्तानले छोडे पनि सँगै जिउने मर्ने कसम खाएकी श्रीमतीले समेत दुःखका बेला छाडेर छोराकै पछि गई।’ बुढेसकालमा छोरा, बुहारी र नातिनातिनाको सहारा पाइयोस् भन्ने सबै बाबुआमाको चाहना हुन्छ । तर, 'बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि' भनेजस्तो सन्तान निष्ठूरी भएपछि कसैको केही लाग्दैन । बदलिँदो जीवनशैलीसँगै वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन् पशुपतिमा टोलाएर बस्ने गरेका मेहरमान । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका दुर्इ सय ३० वृद्धवृद्धा छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत र क्यानाडालगायतका मुलुकमा विदेशिएका सन्तानका वृद्ध आमाबुबा यो आश्रममा जीवनका अन्तिम दिन गुजार्दैछन् । पशुपति वृद्धाश्रममा २०६७ देखि बस्दै आएका ललितपुर ठूला दुर्लुङका ७७ वर्षीय भीमनाथ दुलाल र सात वर्षदेखि बस्दै आएका दाङ पञ्चकुलेका कुलबहादुर खत्रीको व्यथा पनि मेहरमानको भन्दा फरक छैन । ढल्कँदो उमेरमा स्मृतिमा बेलाबेला देखापर्ने सम्झना र सुख दुःखका कुराहरू साटासाट गर्दै यो आश्रमका वृद्धवृद्धाको दिनचर्या बित्छ । बुढेसकालमा बिहान बेलुका दुई छाक टार्न अर्काको घरमा काम गर्न बसेकी फूलकुमारी तामाङको ६१ वर्षमा सिउँदो पुछियो । बाँकी एकमात्र सन्तानका रुपमा छोरा रविनलाई दुःखजिलो गरेर हुर्काएर अध्ययनका लागि जापान पठाइन् । तर, जापानबाट आएपछि रविनले आमालाई वास्ता गरेनन् । नचिनेझैँ गरी बोल्दासमेत बोलेनन् । छोरालाई भनेर उनले रातदिन दुःख गरेको रविनले चटक्कै बिर्से । 'विदेशबाट आएपछि अहिले उसले मलाई नै चिन्दैन बोल्दैन । बरु यस्तो सन्तान हुनुभन्दा त बाँझै बस्नु बेस', गहभरि आँसु पार्दै फूलकुमारीले भनिन् । पछिल्लो जनगणनाअनुसार करिब २६ लाख ज्येष्ठ नागरिक छन् । सन्तानले नै बेवास्ता गरेपछि सक्नेहरू अधिकारका लागि सडकमा सङ्घर्ष गरिरहेका छन् । नसक्नेहरू वृद्धाश्रमहरू खोजिरहेका छन् । सडकमा मगन्ते जीवन जिउन बाध्य छन् ।

Popular Posts