
वैशाख–महाभूकम्पले निम्याएको संकटको बेलामा राजनीतिक दल र नेताहरु विरुद्धमा जनतालाई भड्काउने प्रयास भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । ओलीले दलहरूप्रति जनतामा वितृष्णा जगाउने संगठित प्रयत्न भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘ठाउँठाउँमा किन नेता पुगेनन् भनेर उधुम मच्चाउने काम भइरहेको छ, पार्टीको कार्यालयमा पनि त क्षति पुगेको छ । नेताहरूलाई पनि आफन्त गुमेको पीडा एकातिर भए पनि अर्कोतिर राहतका लागि दौडनुपरेको छ ।’
प्रेस चौतारीले बिहीबार आयोजना गरेको अन्र्तक्रियामा बोल्दै ओलीले भने, ‘भूकम्पले एमाले नेता कार्यकर्ताका आफन्त पनि मरेका छन्, उनीहरुका घर पनि ढलेका छन्, उनीहरुपनि भुकम्पको पिडामा छन् तर एमालेलाई भूकम्पको पिडाले छोएन भनेर अफवाह फैलाउनु दुखद हो ।’
ओलीले कल्पनै नगरेको विपत्ति आइलाग्दा तत्कालको आवश्यकता र सामथ्र्यको बीच ठूलो पर्खाल खडा भएको बताए । ओलीले जनताले सरकारलाई गाली गरिरहेको सन्दर्भ कोट्याउँदै भने, ‘रेस्क्युमा खटिनुपर्ने सरकारी सेना–प्रहरी ब्यारेकमा सुरक्षित भए पनि घरबाट अत्याशलाग्दो खबर आइरहेको छ । यस्तो बेला सरकारका मान्छेलाई गाली गर्नुको साटो संयमता अपनाउनुपर्छ ।’
ओलीले सामाजिक सञ्जालहरुमा आफ्नो आलोचना भएकोप्रति संकेत गर्दै भने, ‘समाजका सबै पक्ष भूकम्पबाट प्रभावित भएका बेला निच स्वार्थ बोकेका घटियाहरू पनि देखापरे । एकजनाले मेरै नाममा फेसबुक एकाउन्ट खोलेर जथाभावी लेख्दोरहेछ ।’