Sunday, January 31, 2016

शक्ति भन्छन्, भोली ‘क्या नेपाल भी क्रिकेट खेल्ता हे ?’ सोध्नेहरुलाई जवाफ दिनु छ

काठमाडौं – भारत अर्थात् विश्व क्रिकेटको महाशक्ति राष्ट्र । अहिले वानडेबाहेक अन्य संस्करणमा ऊ शीर्ष स्थानमा छ । भारतीयका लागि क्रिकेट धर्म हो । क्रिकेटर भगवानसरह मानिन्छन् ।
यता, नेपाल विश्व क्रिकेटमा भर्खरै उदाउँदै गरेको राष्ट्र । नेपालमा क्रिकेट भर्खरै बामे सर्दै गरेको अवस्थामा छ । नेपालमा क्रिकेटका नाममा अनावश्यक राजनीति हुन्छ र खेलाडीहरुले न्यूनतम सुविधा समेत पाउँदैनन् । तर यी सबै समस्याका बाबजुद सोमबार नेपालले तीन पटकको यु–१९ विश्वविजेता भारतको सामना गर्दा समर्थकहरुले निश्चित जीतकै अपेक्षा गर्नेछन् । नेपाली टिम पनि जीत हासिल गर्दै इतिहास रच्न चाहन्छ ।
भारतमै क्रिकेट सिकेर नेपालको राष्ट्रिय टोलीमा पर्याप्त योगदान गरेका अनुभवी खेलाडी 


 शक्ति गौचन यो खेल नेपाली क्रिकेटका लागि टर्निङ प्वाईन्ट हुनसक्ने बताउँछन् । उनी भन्छन्–‘ मेरो व्यक्तिगत कुरा गर्नुपर्दा यो खेल नेपाली क्रिकेटका लागि टर्निङ प्वाईन्ट हुनसक्छ । अभ्यासमा क्रममा गत जुन महिनामा राष्ट्रिय टोली भारतको धर्मशाला पुग्दा मलाई धेरैले सोधे, ‘क्या नेपाल भी क्रिकेट खेल्ता हैँ ?’
शक्ति यो मान्न तयार छैनन् कि भारतीयहरुलाई नेपालले क्रिकेट खेलेको जानकारी छैन् । उनी भन्छन्–‘हाम्रो स्तर देखेर भारतीय जनताले खिसी उडाएका हुन् । तर, हामी आफैले यु–१९ मा खेल्दा पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हरायौँ । बंगलादेशमा भएको टी २० विश्वकपमा हाम्रो प्रदर्शन राम्रो थियो । त्यति हुदाँ हुदैँ पनि भारतीय जनता हाम्रो स्तरलाई हेपेर कुरा गरिरहेका छन् ।’
शक्तिलाई थुप्रैपटक भारत जाँदा स्थानियहरुले नेपालका सम्बन्धमा सोध्छन् र प्रश्न राख्छन् –‘क्या नेपाल भी वल्र्डकप खेल्ता हैँ ?’
नेपालले खेल्छ होइन जित्छ भन्ने देखाउन पनि भारतलाई हराउनु जरुरी रहेको शक्ती बताउँछन् । भन्छन्–‘नेपाल विजयी हुन सके कम्तिमा पनि ५० प्रतिशत भारतीय जनतालाई नेपालले क्रिकेट खेल्छ होइन राम्रो खेल्छ भन्ने विश्वास हुनेछ ।’ यसै वर्ष हुने टी २० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोली छनोट हुन नसक्दा शक्तिलाई खल्लो लागेको छ । –‘टी २० विश्वकप खेल्न पाएको भए राष्ट्रिय टोलीले नै नेपालीहरुले क्रिकेट खेल्छन् भनेर भारतीयलाई देखाउने थियो किनकी प्रतियोगिताको आयोजक भारत थियो । प्रमाणित गर्नका लागि हामीले गुमाएको मौकालाई सदुपयोग गर्ने अवसर अहिलेको यु–१९ टोलीसामू छ ।’
फतूल्लाह रंगशालामा न्युजिल्याण्डविरुद्ध सुरुआती खेलमा विजय हासिल गरेसँगै नेपालको क्रिकेट टोली अहिले विश्वको नजरमा छ । यु–१९ विश्वकपमा सन् २००८ पछि पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गर्दा नेपाली खेलाडीहरु बधाईको हकदार बनेका छन् । नेपाली टिममा उपकप्तान आरिफ शेखले भनेका छन्–‘सबैतीरबाट प्रशंसाका शब्दहरु आएका छन् । प्रधानमन्त्री केपी ओलीले समेत फोन गर्नुभयो । हामीलाई भोलीको म्याचका लागि शुभकामना दिनुभएको छ ।’

नेपालले शनिबार आयरल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा नेपाल पुरै हाबी देखियो । आयरल्याण्ड विरुद्धको ८ विकेटको जीतसँगै नेपालले सन् २००० पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेर नयाँ इतिहास राखिसकेको छ । नयाँ यस अर्थमा किनकी यसअघि सन् २००० मा दोस्रो चरणमा पुग्दा नेपालले केवल १ खेलमा मात्रै जीत हासिल गरेको थियो । त्यो पनि एशोसियट राष्ट्र नामिबिया विरुद्ध । त्यतिबेला टोलीमा उप–कप्तान रहेका राजु बस्न्यात भन्छन्– ‘ नेपालले नामिबिया विरुद्ध जीत हासिल ग¥यो । त्यसपछि दक्षिण अफ्रिकाले हाम्रो विरुद्ध राम्रो स्कोर खडा गरेपनि एक्कासी पानी पर्दा खेल प्रभावित भयो । वर्षात्का कारण पाकिस्तान विरुद्धको खेल सुरु नै हुन पाएन । त्यस्तै, दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल पनि वर्षाकै कारण प्रभावित हुदाँ हामी एउटै जीतले दोस्रो चरणमा पुग्यौ ।’ यसपटक नेपालले सुरुआती दुई खेल जितेको छ ।
प्रेसरमा नखेल्न शक्तिको सुझाव
नेपाली टोलीका अनुभवी खेलाडी शक्ति गौचनले नेपाली खेलाडीहरुलाई भारत विरुद्धको खेलमा विना दबाब मैदान उत्रन सुझाव दिएका छन् । रातोपाटीसँगको कुराकानीमा शक्तीले भनेका छन्–‘ ठूलो टिमको प्रेसर लिनु राम्रो होइन । हामीले अहिले प्रतियोगितामा जस्तो खेलिरहेका छौँ , त्यही नै राम्रो छ । त्यस्तै खेलेर भारतलाई जित्ने हो ।’ बंगलादेशको पिच स्पिनर फ्रेन्ड्ली रहेका कारण नेपालका बलरहरुसामु भोली खेल आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुने शक्तीको बुझाई छ । उनी भन्छन्–‘आयरल्याण्डविरुद्ध सन्दीप लामिछानेले एक्स्ट्रा खेल देखाए । त्यसपछि टोलीको मनोबल बढेको छ । यही मनोबलका साथ खेल्ने हो ।’ उनी न्युजिल्याण्ड विरुद्ध २ सय ३८ रनको स्कोर खडा गर्दै नेपाली ब्याटस्म्यानहरुले आफ्नो क्षमता प्रमाणित गरिसकेको बताउँछन् । ‘ आयरल्याण्ड विरुद्धको खेलमा पनि नेपालले केवल दुई विकेट गुमाएर लक्ष्य भेट्यायो जबकी छनोट चरणमा यही आयरल्याण्डले हामीलाई कडा चुनौती दिएको थियो । यस्तै ब्याटिङ भारत विरुद्ध पनि हुनुपर्छ ।’

Popular Posts